नेपालमा पछिल्ला वर्षहरूमा प्रविधि र डिजिटल सञ्चार माध्यमले युवापुस्ताको जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ। टिकटक, रेडिट, इन्स्टाग्राम, फेसबुकजस्ता प्लेटफर्म केवल मनोरञ्जनका साधन मात्र नभई, विचार आदान–प्रदान गर्ने, समाजिक मुद्दा उठाउने र सूचना प्राप्त गर्ने प्रमुख माध्यम बनेका छन्। यस्तो अवस्थामा सरकारले २६ वटा सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णय गर्यो। यस कदमलाई युवापुस्ताले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहारको रूपमा लिए। यसले गर्दा सरकार र युवापुस्ताबीच गहिरो दूरी बढ्यो।
यसैबीच, लामो समयदेखि नेपालमा देखिँदै आएको भ्रष्टाचार, घुसखोरी, नातावाद र विशेषाधिकारवादी मानसिकताले युवाहरूलाई असन्तुष्ट बनाइरहेको थियो। राजनीतिक नेतृत्व र उनका परिवारहरूको विलासी जीवनशैली खुलेआम देखिनु, जबकि सर्वसाधारण बेरोजगारी, शिक्षा र स्वास्थ्यमा कठिनाइ भोगिरहेका छन् भन्ने तथ्यले आक्रोश बढायो। सामाजिक सञ्जालमार्फत यस आक्रोशलाई स्वर दिइएको थियो, तर प्रतिबन्धले त्यो स्वरलाई दबाउन खोजेको अनुभव भयो। यही कारण, युवाहरूले सडकमा उत्रनु आवश्यक ठाने।

‘जेन–जी आन्दोलन’ त्यसैले केवल सामाजिक सञ्जाल प्रतिबन्धको प्रतिक्रिया मात्र होइन, यो लामो समयदेखि सन्चित असन्तुष्टि र विद्रोहको परिणाम हो। यो आन्दोलनले देखायो कि नेपालका युवा पुस्ता अब मौन रहन चाहँदैन। उनीहरू पारदर्शिता, उत्तरदायित्व र लोकतान्त्रिक मूल्यहरूको माग गर्दै छन्। यसले नयाँ पुस्ताको सोच, दृष्टिकोण र परिवर्तनप्रतिको चाहनालाई उजागर गर्यो।