काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राजदूत पदका लागि 'सोर्सफोर्स' लगाउन खोज्ने सचिव कृष्णहरि पुष्करप्रति सामाजिक सञ्जालमार्फत कडा व्यङ्ग्य गरेका छन्। शनिबार मध्यराति फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘मलाई पनि एम्बासडर (राजदूत) बन्न मन छ, पीएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् न।’
यो व्यङ्ग्य उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले राजदूत बन्ने इच्छा राख्दै प्रधानमन्त्रीलाई पठाएको एसएमएससँग सम्बन्धित छ। असार २४ गते अनिवार्य अवकाशमा जान लागेका सचिव पुष्करले आफूलाई राजदूत नियुक्त गरिदिन आग्रह गर्दै प्रधानमन्त्री शाहलाई सन्देश पठाएका थिए।
उक्त घटनापछि प्रधानमन्त्रीको सचिवालयले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। हाल उनलाई उपराष्ट्रपति कार्यालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त (जगेडा) समूहमा सरुवा गरिएको छ। प्रधानमन्त्रीको यो व्यङ्ग्यात्मक स्टाटसले पदका लागि गरिने अवाञ्छित चलखेलप्रति उनको कडा असन्तुष्टि झल्काएको छ।