काठमाडौँ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक राष्ट्रिय मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसदहरूले भ्रष्टाचारका पुराना काण्डहरूको छानबिन, सुकुमवासी समस्याको समाधान र सार्वजनिक सेवा प्रवाहमा सुधारको माग गरेका हुन्।
बैठकमा सांसद ललिताकुमारीले नेपाल भित्रिएका रोहिङ्ग्याहरूलाई फर्काउन माग गरिन् भने सांसद लक्ष्मीप्रसाद पोखरेलले साताको दुई दिने बिदा हटाउन सरकारलाई सुझाव दिए। सांसद समीक्षा बास्कोटाले विगतका ठूला भ्रष्टाचार काण्डका दोषीलाई कारबाही गर्न माग गरिन्।
सांसदहरू शोभा खनाल र सुशील खड्काले क्रमशः गोरखा र बागलुङका अस्पतालमा उपकरण र जनशक्तिको अभाव रहेको भन्दै तत्काल व्यवस्था गर्न माग गरे। सांसद समिना मियाँले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। यस्तै, सांसद सोम शर्माले प्रहरी चौकीका भवनहरूको जीर्ण अवस्था सुधार्न ध्यानाकर्षण गराए।
सांसद सन्दीप रानाले पाल्पामा औद्योगिक विकासका नाममा भइरहेको वातावरणीय प्रदूषण नियन्त्रण गर्न माग गरे। सांसद स्मृति सेन्चुरीले दोलखाको खरीढुङ्गा म्याग्नेसाइट उद्योग पुनः सञ्चालन गर्न र बिगु गाउँपालिकाको फलाक नाका खोल्न आग्रह गरिन्। सांसद सुशीला ढकालले पनि देशका रुग्ण उद्योगहरू सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
सांसद सरस्वती लामाले सुकुमवासी बस्ती हटाउँदा धार्मिक स्थलमा डोजर चलाइएकोमा विरोध गर्दै भूमिहीनको उचित व्यवस्थापन गर्न माग गरिन्। सांसद ज्ञानु पौडेलले भारतको उडिसामा हत्या गरिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गराउन कूटनीतिक पहल गर्न माग गरिन्। सांसद सुजाता तामाङले शिक्षालाई प्रकृति र कृषिसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गर्न सुझाव दिइन्।
बैठकमा सांसदहरूले संसद्को गरिमा कायम राख्न, अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन र शून्य समयमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयले तत्काल जवाफ दिने व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए। एमालेका साजिदा खातुन सिद्धिकी, श्रीधर पोखरेल, सुम्निमा उदास र सुरेशकुमार चौधरीले पनि विभिन्न समसामयिक विषयमा धारणा राखेका थिए।