काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद रञ्जु न्यौपानेले मुलुकमा बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोहलाई तत्काल कारबाही गर्न माग गरिन्।
सांसद न्यौपानेले ह्वाट्सएप ह्याक गरी आफन्तबाट पैसा असुलिएका र बैंक खाताबाट १० लाख रुपैयाँसम्म चोरी भएका प्रतिनिधि घटनाहरू संसदमा प्रस्तुत गरिन्। ह्याकरहरूले नेपालकै बैंक खाता र क्यूआर कोड प्रयोग गरिरहेको पाइएकाले त्यस्ता शंकास्पद खाताहरू तत्काल ब्लक गर्ने व्यवस्था मिलाउन उनले सरकारलाई आग्रह गरिन्।
उनले साइबर ब्युरोसँग सीमित स्रोतसाधन रहेको उल्लेख गर्दै यसलाई थप शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउन माग गरिन्। साथै, नागरिकमा डिजिटल साक्षरताको कमीका कारण ठगी बढेको भन्दै सरकारले देशव्यापी रूपमा डिजिटल साक्षरता अभियान चलाउनुपर्नेमा उनले जोड दिइन्।