काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य बनाएर सामाजिक सञ्जालमा फैलाइएको 'फर्जी' पोस्टरको विषय प्रतिनिधिसभामा उठेको छ।
एमाले सांसद यशोदा बरालले सोमबारको बैठकमा बोल्दै अध्यक्ष ओलीलाई रास्वपाको सदस्य देखाइएको नक्कली पोस्टर सामाजिक सञ्जालमा भाइरल बनाइएको भन्दै कडा आपत्ति जनाइन्। उनले यस्तो भ्रमपूर्ण र फर्जी कार्य गर्नेहरूलाई तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरिन्।
पछिल्लो समय राजनीतिक दलका नेताहरूका बारेमा प्रविधिको दुरुपयोग गरी भ्रामक सामग्रीहरू बनाउने क्रम बढेको भन्दै सांसद बरालले यसले लोकतन्त्र र राजनीतिक मर्यादामा आँच पुर्याउने बताइन्। उनले यस्ता गतिविधिले जनतामा गलत सन्देश जाने भएकाले साइबर अपराध अन्तर्गत कारबाही हुनुपर्नेमा जोड दिइन्।