काठमाडौँ
नेपाल–भारत सीमा विवाद फेरि सतहमा आएपछि भारतका विदेश सचिव विक्रम मिस्रीको प्रस्तावित नेपाल भ्रमण अन्योलमा परेको छ। सीमा सम्बन्धी विषयमा दुई देशबीच चिसोपन बढेसँगै भ्रमणको औपचारिकता पनि अनिश्चित बनेको हो।
भारतले हालै चीनसँगको सहकार्यमा लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने घोषणा गरेपछि नेपालले कूटनीतिक नोटमार्फत कडा आपत्ति जनाएको थियो। नेपालले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको दाबी गर्दै उक्त क्षेत्रमा कुनै पनि गतिविधि नगर्न भारतलाई आग्रह गरेको छ।
नेपालको आपत्तिपछि भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै लिपुलेक नाका लामो समयदेखि प्रयोग हुँदै आएको र नेपालका दाबी ऐतिहासिक प्रमाणमा आधारित नभएको बताएको छ। साथै, भारतले द्विपक्षीय संवादमार्फत सबै विषय समाधान गर्न तयार रहेको जनाएको छ।
यसैबीच सीमा विवादको तनावका कारण भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण प्रभावित भएको बताइएको छ। उनलाई वैशाख २८ गतेदेखि नेपाल भ्रमणमा आउने तयारी गरिएको भए पनि हाल भ्रमणको औपचारिक निर्णय भइसकेको छैन।
यसअघि मिस्रीको भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेट हुने विषयमा पनि अन्योल रहेको थियो। अहिले सीमा विवाद चर्किएपछि भ्रमण झन् अनिश्चित बनेको स्रोतहरूले बताएका छन्।
यद्यपि, परराष्ट्र मन्त्रालयले मिस्रीको भ्रमणबारे कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ। उता, परराष्ट्रमन्त्री शिशिर खनाल भने आगामी ब्रिक्स परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागी हुन भारत जाने तयारीमा रहेको बुझिएको छ।