काठमाडौँ।
प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका ५ पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुन मात्र विजयी भएका छन्। रोल्पाबाट नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार पुन २७ हजार ४६० मतसहित निर्वाचित भएका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुदनकुमार वलीलाई १५ हजारभन्दा बढी मतान्तरले पराजित गरे।
अन्य चार पूर्वअर्थमन्त्रीहरू भने पराजित भएका छन्। नेकपा एमालेका प्रभावशाली नेता एवं पाँच पटकका अर्थमन्त्री विष्णुप्रसाद पौडेल रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलसँग भारी मतान्तरले पराजित भए। खरेलले ५६ हजार ५५० मत पाउँदा पौडेल १२ हजार ८६१ मतमा खुम्चिए।
त्यस्तै, रुकुम पश्चिमबाट जनार्दन शर्मा तेस्रो स्थानमा सीमित हुँदै पराजित भए। उनलाई नेपाल कम्युनिष्ट पार्टीका गोपाल शर्माले पराजित गरे। नेपाली काँग्रेसका दुई पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशशरण महत र ज्ञानेन्द्र बहादुर कार्की पनि रास्वपाका उम्मेदवारहरूसँग पराजित भएका छन्। महत नुवाकोट–१ मा विक्रम तिमिल्सिनासँग र कार्की सुनसरी–४ मा दीपक कुमार साहसँग पराजित भएका हुन्। यस निर्वाचनमा रास्वपाले तीन जना पूर्वअर्थमन्त्रीहरूलाई पराजित गर्दै ठूलो धक्का दिएको छ।