काठमाडौँ।
साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा नेप्से ०.८२ प्रतिशतले उकालो लागेको हो।
परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। मंगलबार ३२८ कम्पनीको ९३ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भयो, जबकि आइतबार ६ अर्ब ६९ करोडको कारोबार भएको थियो।
आज कारोबार भएका १३ वटै उपसमूहमा हरियाली छाएको छ। होटल तथा पर्यटन समूह सबैभन्दा बढी २.०२ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन १.७६ र जलविद्युत् समूह १.२७ प्रतिशतले बढेका छन्। मंगलबार २१३ कम्पनीको सेयर मूल्य बढ्दा ४२ वटाको घटेको छ।
साल्पा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाउँदा नेपाल एसबीआई बैंक लिमिटेडका लगानीकर्ताले ३.५८ प्रतिशतले गुमाएका छन्। कारोबारका आधारमा ३७ करोड ७२ लाख रुपैयाँसहित एसवाई प्यानल नेपाल लिमिटेड अग्रस्थानमा रह्यो।