काठमाडौँ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। सङ्घको बैठकले आजैदेखि लागू हुने गरी नयाँ दररेट तय गरेको हो, जसअनुसार एक्सएल (XL) अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ।
नयाँ मूल्यसूची अनुसार ठूलो अण्डा प्रतिक्रेट ५४५ रुपैयाँ, मध्यम ५१५ रुपैयाँ र सानो अण्डा प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ। यससँगै खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुगेको छ। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य करिब २० प्रतिशत (प्रतिक्रेट ९५ रुपैयाँ) ले बढेको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार गर्मीका कारण उत्पादनमा आएको कमी, दाना तथा औषधिको बढ्दो लागत र बजारमा माग बढेकाले मूल्य समायोजन गरिएको हो। हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९.१२ रुपैयाँ रहेको छ। लामो समयपछि बिक्री मूल्य उत्पादन लागतको हाराहारीमा पुगेकाले किसानलाई केही राहत मिलेको सङ्घले जनाएको छ। सीमा क्षेत्रमा आयातमा गरिएको कडाइ र पर्यटकको आगमनमा भएको वृद्धिले पनि मूल्य सुधारमा सहयोग पुगेको बताइएको छ।