काठमाडौँ।
वर्तमान गैर राजनीतिक अर्थात् चुनावी सरकार र निर्वाचन आयोगले तोकिए कै मिति फागुन २१ मा चुनाव हुने र प्रतिनिधि सभाको यो निर्वाचन कोही कसैले रोक्न नसक्ने जिकिर गरेका छन् । तर, चौतर्फी वातावरण भने शंकाको घेरामा छ । यसबारे केलाइएका केही आन्तरिक कारणहरुः
प्रकरण १
प्रशासनिक हिसाबले नेपालमा गणतन्त्रात्मक राज्य व्यवस्था भए पनि परिचयात्मक हिसाबले यो सनातन सभ्यतामा चलेको मुलुक हो । यहाँ, तन्त्र साधना, जोतिषीय अंक गणित, पञ्च तत्वको रापताप तथा देशकाल परिस्थितिले सन्दर्भ जन्माउँछ । संयोगले फागुन १९ गते खग्रास चन्द्र ग्रहण लाग्ने खगोलशास्त्र र जोतिषशास्त्र दुबैले उद्घोष गरिसकेका छन् । ग्रहण लागेको ४८ घण्टासम्म सुतक काल रहन्छ भनिएको छ । त्यस हिसाबले २२ फागुनसम्मै सुतक हाल रहन्छ । तर, सरकारले २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने मिति तोकेको छ । सिंह राशिमा ग्रहण घटित हुने मात्र नभई फागु पूर्णिमा अति अप्शगुन रहेका कारण पनि चुनाव तोकिएको मितिमा उपद्रव हुने संभावना रहने जोतिषीय तर्क छ । यो ग्रहणको प्रभाव सरकार ढल्नेदेखि राजनीतिक कोर्ष परिवर्तनसम्म पुग्ने जिकिर उनीहरुको छ । फागुन २१ को चुनाव सर्ने र चैतमा नेपालमा अनपेक्षित राजनीतिक परिवर्तन देखा पर्ने तर्क पनि कैंयन जोतिषहरुले गरेका छन् ।
प्रकरण २
छिमेकी देश भारतमा निपाह भाइरसको संक्रमण फैलँदै गर्दा नेपालमा लाइन लगाएर मतदान गराउने तयारी भइरहेको छ । खुला बोर्डर र नियमित वस्तु तथा सेवाको आयात निर्यात भइरहेको छिमेकी भारतबाट आंशिक रुपमा मात्र किन नहोस् निपाहा भाइरसको शंक्रमण छिरेको भए पनि मात्रै एकै ठाउँमा हजारौं मान्छे मतदानका लागि भीड लाग्दा संक्रमण फैलने जोखिम उच्च रहेको बताइँदै छ ।
प्रकरण ३
भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीहरुले गरिरहेको उप्रदवका घटना दैनिक सुन्नमा आएका छन् । नख्खु कारागारबाट भागेको एक कैदीको समूहले हालसम्म ६ ठाउँ लुटपाट गरेको घटना हालै मात्र नेपाल प्रहरीले सार्वजनिक गरेको छ । अर्कोतर्फ प्रहरी चौकीमा आगजनी गरेर लुटिएका कैयन हतियार बाहिरै छन् भने सबै सुरक्षा संयन्त्र फेलिएर भएको अवस्थामा अवैध हातहतियारको चलखेल भएको आशंकाले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूत हुन सकेको छैन । सरकारले हालसम्म कै उच्च संख्यामा नेपाली सेनाको सहयोग मागेको छ । ८० हजार नेपाली सेना चुनावका लागि खटाइनुलाई कतिपयले देश अघोषित सैनिक शासनमा रहेको समेत भन्न थालेका छन् । केही भित्रि अवस्था बुझेकाहरुले मुलुकका नयाँ परिस्थिति सिर्जनाको अड्कल गरिरहेका छन् ।
प्रकरण ४
अधिकांश गणतन्त्रवादीहरु अहिले मुलुक जोगाउको नारा लगाउन थालेका छन् । यो चुनावमा केही राजनीतिक दल र व्यक्तिहरुले मात्रै गणतन्त्रको स्थायित्वका लागि आवाज उठाएका छन् । अधिकांश गणतन्त्र पक्षधरहरु देश रहे हामी रहन्छौं र निकासको बाटो चुनाव होइन भन्न थालेका छन् । कतिपयले पूर्वराजा ज्ञानेन्द्रको नामै लिएर आन्तरिक तयारी पूरा भएको हो भने देश बचाउने जिम्मा उनकै काँधमा आएको भनी बोल्न थालेका छन् । भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न भन्दै भदौ २३ गते आन्दोलनमा उत्रिएका जेनजीहरुले समेत पहिले सबै शक्ति तथा पक्षहरु मुलुकलाई निकास दिन तत्पर हुनुपर्ने र निकासपछि मात्रै निर्वाचन गर्नु पर्ने पक्षमा छन् । यी सबै आन्तरिक कारणले सौहार्दतामा चुनाव हुनेमा शंका गरिँदै छ । यद्यपि, सरकार र निर्वाचन आयोग भने आफुले पाएको जिम्मेवारी पूरा गर्न अरोरात्र खटिएका छन् ।