काठमाडौँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ राजनीतिको केन्द्र बनेको छ। नेपाली काँग्रेसका सभापति गगन थापाले यस क्षेत्रबाट उम्मेदवारी दिएपछि राष्ट्रिय चासो बढेको हो।
पार्टीको विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले पहिलो पटक आफ्नो गृह क्षेत्र काठमाडौं-४ बाहिर मधेश प्रदेशबाट चुनाव लड्न लागेका हुन्। कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेकाले यो निर्वाचनलाई उनको राजनीतिक प्रतिष्ठासँग जोडेर हेरिएको छ।
यस क्षेत्रमा थापालाई पूर्व कांग्रेस नेता डा. अमरेश कुमार सिंह, एमालेका अमनिश कुमार यादव र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का राजनीश राय यादवले कडा टक्कर दिने देखिएको छ। २०७९ को निर्वाचनमा डा. सिंहले स्वतन्त्र उम्मेदवारका रूपमा यही क्षेत्रबाट जित हासिल गरेका थिए।
प्रभावशाली उम्मेदवारहरू मैदानमा उत्रिएकाले सर्लाही-४ को चुनावी प्रतिस्पर्धा यसपटक निकै रोचक र निर्णायक हुने अनुमान गरिएको छ।