काठमाडौँ।
साताको दोस्रो कारोबार दिन मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सकारात्मक सुधार देखिएको छ।
अघिल्लो दिन झण्डै २८ अङ्कले घटेको बजार आज २२.२१ अङ्क (०.८० प्रतिशत) ले बढेर २७७७.५८ विन्दुमा बन्द भएको छ।
आज ३४६ कम्पनीका १ करोड १३ लाख कित्ता सेयर ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँमा खरिद–बिक्री भएका छन्। बजारमा १८४ कम्पनीको सेयर मूल्य बढ्दा ७७ वटाको घटेको छ। कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १४.९८ प्रतिशत नाफा कमाएका छन् भने सेन्ट्रल फाइनान्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य पनि १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी ४६ करोड ७६ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। क्षेत्रगत रूपमा उत्पादनमूलक बाहेक अन्य सबै उपसूचकहरू बढेका छन्, जसमा 'अन्य' समूहको सूचक सबैभन्दा धेरै ३.८४ प्रतिशतले उकालो लागेको छ। खरिदकर्ताको चाप बढ्दा परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक प्रभाव देखिएको छ।