काठमाडौँ।
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेका प्रमुख दलहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि सहकार्य गर्ने गरी गृहकार्य थालेका छन् । विशेषगरी नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच चुनावी गठबन्धनका लागि विभिन्न विकल्पमा छलफल सुरु भएको हो ।
'जेनजी' आन्दोलनपछि नयाँ शक्तिको उदयले परम्परागत दलहरूलाई एक ठाउँमा ल्याएको विश्लेषण भइरहेका बेला कांग्रेस सभापति शेर बहादुर देउबा र एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच निरन्तर संवाद भइरहेको छ ।
स्रोतका अनुसार, दुई नेताबीच तीन मुख्य विकल्पमा छलफल केन्द्रित छ:
- पहिलो विकल्प: भक्तपुर-१ बाहेक १६४ सिटमा ८२/८२ सिट बाँडेर गठबन्धन गर्ने ।
- दोस्रो विकल्प: कांग्रेस वा एमाले नै जित्ने निश्चित भएका सिटमा मित्रवत् प्रतिस्पर्धा गर्ने र बाँकी सिट आधा-आधा बाँड्ने ।
- तेस्रो विकल्प: २०७९ को निर्वाचनमा जुन पार्टीले जितेको हो, त्यो सिट सोही पार्टीलाई छाड्ने र बाँकी सिट मत प्रतिशतका आधारमा भागबण्डा गर्ने ।
दुवै दलका नेताहरूले १६५ वटै निर्वाचन क्षेत्रको गहन अध्ययन गरी गठबन्धनको सम्भाव्यता खोजिरहेका छन् । यद्यपि, कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले एमालेसँगको गठबन्धनको विरोध गर्दै आएका छन् ।
दुई दलले सहरी क्षेत्रमा रास्वपा, कर्णाली र सुदूरपश्चिममा नेकपा तथा मधेशमा अन्य दलहरूसँग मुख्य प्रतिस्पर्धा हुने अनुमान गरेका छन् । राजधानी दैनिकबाट