काठमाडौँ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक युवक बन्दुकसहित मृत अवस्थामा फेला परेका छन् । मैवाखोला–३, लेकुवाका करिब २६ वर्षीय फुर्वा रेन्जु शेर्पा स्थानीय अलैँची बारीमा भरुवा बन्दुकसहित मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शनिबार राति करिब २ बजे शेर्पा आफ्ना १८ वर्षीय भतिज सोनम शेर्पासँगै अलैँची बारीतर्फ गएका थिए ।
प्रारम्भिक अनुसन्धानमा भरुवा बन्दुकमा बारुद भर्ने क्रममा अचानक बन्दुक पड्किएर शेर्पाको घाँटीमा गोली लागेको सँगै रहेका भतिज सोनमले प्रहरीलाई बयान दिएका छन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थललाई सुरक्षित राखी अनुसन्धानका लागि भतिज सोनमलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।