काठमाडौँ
यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुट कार्यान्वयनको माग गर्दै सरस्वती बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थी सङ्गठनले साङ्केतिक विरोध प्रदर्शन गरेका छन्। उनीहरूले ‘विद्यार्थीको ४५% छुट खोइ?’ भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले सरकारले व्यवसायीलाई दिँदै आएको कर छुट कटौती गरिएको अवस्थामा विद्यार्थी सहुलियत कार्यान्वयन गर्न नसकिने बताएको थियो। महासङ्घका अनुसार वि.सं. २०६५ को सहमतिअनुसार व्यवसायीले ४५ प्रतिशत छुट दिएबापत सरकारले कर, रुट परमिट र जाँच पास शुल्कमा ६० प्रतिशत छुट दिने व्यवस्था थियो।
तर, सङ्घीय संरचना लागू भएपछि कोशी प्रदेश बाहेक अन्य प्रदेशहरूले आर्थिक वर्ष २०७३ देखि उक्त कर छुट सुविधा हटाएका छन्। यस कारण केन्द्र र प्रदेशबीच समन्वय अभाव रहेको व्यवसायीहरूको भनाइ छ।
महासङ्घले कर छुटलाई कानुनी रूपमा सुनिश्चित नगरेसम्म विद्यार्थी छुट कार्यान्वयन गर्न नसकिने अडान राखेको छ। यता, विद्यार्थीहरूले भने आफ्नो कानुनी अधिकार कार्यान्वयन हुनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम जारी राखेका छन्।