काठमाडौँ
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुमिडाँडा घर भई ललितपुरको इमाडोल बस्दै आएका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएपछि घटनाले गम्भीर प्रश्न उठाएको छ। वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र विक मृत अवस्थामा फेला परेका थिए। उनको शव शौचालयको झ्यालमा झुन्डिएको अवस्थामा भेटिएको थियो।
प्रहरीले विकले आफ्नै सटको पासो लगाएर आत्महत्या गरेको दाबी गरे पनि परिवार र अधिकारकर्मीहरूले घटनालाई शंकास्पद मान्दै सुनियोजित हत्या हुन सक्ने आशंका गरेका छन्। यस घटनाप्रति क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालले गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।
विकको मृत्यु अन्तरजातीय प्रेम सम्बन्धसँग जोडिएको बताइएको छ। खोटाङ घर भई काठमाडौँ बस्दै आएकी निर्जला मगरसँग भागी विवाह गरेका विकलाई वैशाख ३ गते जिल्ला प्रहरी कार्यालय ललितपुरले मिलापत्रका लागि बोलाएको थियो। तर, उनलाई नियन्त्रणमा लिएर सिन्धुली पठाइएको थियो, जहाँ उनीमाथि जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको थियो।
सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेकै अवस्थामा वैशाख ७ गते साँझ विकको मृत्यु भएको प्रहरीले जनाएको छ। यद्यपि, पीडित परिवारले प्रहरीको भनाइ अस्वीकार गर्दै हिरासतभित्रै यातना दिइएको आरोप लगाएका छन्।
मृतककी आमा बिन्दामाया विकका अनुसार श्रीकृष्णले आफन्तसँग भेट्दा जबरजस्ती करणीको बयानमा सही गराउन शारीरिक तथा मानसिक दबाब दिइएको बताएका थिए। साथै, घटनास्थल समेत हेर्न नदिइएको भन्दै उनले प्रहरीको दाबीप्रति अविश्वास व्यक्त गरेकी छिन्।
पीडित पक्षले अन्तरजातीय विवाहकै कारण उनलाई फसाउन करणी जस्तो गम्भीर आरोप लगाइएको र सोही क्रममा उनको मृत्यु भएको हुनसक्ने दाबी गरेका छन्। कानुनी रूपमा उमेर नपुगी विवाह गरेको अवस्थामा बालविवाहसम्बन्धी मुद्दा चलाउन सकिने भए पनि सिधै करणीको मुद्दा दर्ता गरिनुले घटनालाई थप शंकास्पद बनाएको मोर्चाको भनाइ छ।
मोर्चाले २४ घण्टा सुरक्षा रहने हिरासतभित्रै थुनुवाको मृत्यु हुनु गम्भीर विषय भएको उल्लेख गर्दै मानव अधिकारको उल्लंघन भएको जनाएको छ। साथै, घटनाको सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ।
पीडित परिवारले निष्पक्ष छानबिन र न्याय नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
