काठमाडौँ
विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी तयारीको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनहरूले आन्दोलन घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संयुक्त विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
सङ्गठनका अनुसार चैत २७ गते पत्रकार सम्मेलनसँगै आन्दोलन सुरु गरिएको छ। त्यसपछि चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया, चैत ३० गतेदेखि वैशाख ४ गतेसम्म ७७ जिल्लाका कलेजहरूमा स्ववियु एकाइ तथा जिल्लास्तरीय छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ।
त्यस्तै वैशाख ५ गते पूर्व विद्यार्थी नेता तथा सांसदहरूसँग अन्तरक्रिया गर्ने, वैशाख ७ देखि ९ गतेसम्म कलेजहरूमा प्रचार–प्रसार तथा विविध सांस्कृतिक र प्रतिस्पर्धात्मक कार्यक्रमहरू गर्ने योजना रहेको छ। यस क्रममा ब्यानर प्रदर्शन, पर्चा वितरण, वक्तृत्वकला, वादविवाद, गीत–संगीत, नृत्य, सडक नाटक र फ्ल्यास मोब लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।
वैशाख ११ गते सबै विश्वविद्यालयका उपकुलपतिहरूलाई ज्ञापनपत्र बुझाइनेछ भने वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम तय गरिएको छ। वैशाख १५ गते काठमाडौँ उपत्यकासहित देशभर कापी–कलम सहितको प्रदर्शन गर्ने पनि संयुक्त विद्यार्थी सङ्गठनले जनाएको छ।
संयुक्त विद्यार्थी सङ्गठनले आन्दोलनसँगै सरकारसमक्ष ७ बुँदे माग पनि प्रस्तुत गरेको छ। मागमा विश्वविद्यालयका लागि समर्पित सर्भर तथा डाटा केन्द्र स्थापना, साइबर सुरक्षा नीति निर्माण, विश्वविद्यालयमा प्रविधि एकीकरणको नियमन तथा अनुगमन, त्रिभुवन विश्वविद्यालयको उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन लगायतका विषय समेटिएका छन्।
त्यसैगरी, कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धी सरकारको स्पष्ट धारणा, तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गर्दै जनतालाई राहत प्याकेज घोषणा गर्न पनि विद्यार्थी सङ्गठनले माग गरेको छ।