काठमाडौँ
पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
उक्त रिटमाथि सुनुवाइका लागि न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ। यसअघि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेपछि विपक्षी पक्षबाट लिखित जवाफ पेस भइसकेको छ र सोही आधारमा आजका लागि सुनुवाइ तय गरिएको हो।
सरकारले जेनजी आन्दोलनका घटनाबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीद्वारा चैत १४ गते ओली र लेखकलाई पक्राउ गरिएको थियो।
उक्त पक्राउविरुद्ध लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनमा उनीहरूलाई जिम्मेवार ठहर गर्दै आयोगले मुद्दा चलाउन सिफारिस गरेको थियो।