काठमाडौँ।
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी लगाइएको मदिरा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा मङ्गलबार रातिसम्म चारवटा मदिरा पसल सिल गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–६ को एक रेस्टुरेन्टबाट ९ जना र शुद्धोधन गाउँपालिकाका दुईवटा रेस्टुरेन्टबाट सञ्चालकहरू पक्राउ परेका हुन्। यस्तै, मायादेवी गाउँपालिका–५ बाट ११० बोतल अवैध मदिरा बरामद गरिएको छ।
स्थानीय प्रशासनले निर्वाचन अवधिभर मदिरा बिक्रीवितरण र सेवनमा पूर्ण रोक लगाएको छ। सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार निषेध आदेश उल्लंघन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ। निर्वाचनलाई शान्तिपूर्ण बनाउन जिल्लाभर विशेष प्रहरी टोलीले निगरानी बढाएको छ।