काठमाडौँ।
महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह भव्य रूपमा सम्पन्न भएको छ। नेपाली सेनाका परमाधिपति एवं राष्ट्रपति रामचन्द्र पौडेलले समारोहमा सरिक भई सैनिक स्मारकमा पुष्पहार अर्पण र सेनाको सलामी ग्रहण गर्नुभयो।
समारोहमा राष्ट्रपतिले ‘सिपाही–२०८२’ वार्षिक पत्रिका विमोचन गर्नुका साथै ‘फ्रि फल जम्प’ का विजेताहरूलाई पुरस्कृत गर्नुभयो। कार्यक्रममा नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि, तोप र राइफलबाट बढाइँ, कवाज तथा विभिन्न युद्धकला र सांस्कृतिक झाँकीहरू प्रदर्शन गरेको थियो। यसपटक भारतीय, बेलायती र अमेरिकी सेनाका ब्याण्ड टोलीहरूले पनि आफ्नो विशेष प्रस्तुति दिएका थिए।
समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायत उच्च पदस्थ अधिकारी र कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति थियो। सेनाको कौशल र हतियार प्रदर्शन हेर्न टुँडिखेल वरपर सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।