काठमाडौँ ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलसँग नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का युवा नेता वीरेन्द्र विक (सी) ले प्रतिस्पर्धा गर्ने भएका छन् ।
विप्लव माओवादीले पार्टीका जिल्ला सेक्रेटरी समेत रहेका विकलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । विक सुकुम्बासी, मिटरब्याजी पीडित तथा सामाजिक अन्यायविरुद्धका आन्दोलनमा सक्रिय नेताका रूपमा चिनिन्छन् ।
यता, एमालेले भने आफ्नो परम्परागत पकड क्षेत्र मानिएको रुपन्देही-२ मा प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई नै पुनः उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसैगरी, यही क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट विश्वदीप पाण्डेले पनि उम्मेदवारी दिने भएका छन् । अन्य दलहरू भने उम्मेदवार छनोटकै प्रक्रियामा छन् । यो निर्णयसँगै रुपन्देही-२ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।