काठमाडौँ ।
नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टीभित्र देखिएका सबै विमतिलाई तत्काल अन्त्य गर्दै एकताबद्ध हुन आह्वान गरेका छन् । शनिबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निवर्तमान सभापति शेर बहादुर देउबालाई अभिभावक र संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरे ।
"पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा होऔँ । निवर्तमान सभापति शेरबहादुर देउवाले देशभरिका साथीहरूलाई 'अब यो (विवाद) रोक' भनेर भनिदिनुपर्छ," थापाले भने । उनले वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि यस्तै भूमिकाको अपेक्षा गरेको बताए ।
सभापति थापाले केही दिनभित्रै सबै पक्षसँग बसेर आगामी निर्णय लिइने र पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको समितिलाई नै आधिकारिकता दिएपछि निवर्तमान कार्यवाहक सभापति खड्काले आपत्ति जनाउँदै राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका थिए ।