काठमाडौँ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प सुरक्षा दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी परिणाममुखी बनाउन निर्देशन दिएका छन् । २८औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती भएको बताए ।
"हाम्रा कार्यक्रमहरू परिणाममुखी होऊन्, भाषणमुखी होइनन्," मन्त्री अर्यालले भने, "यसलाई विद्यालय, अस्पताल, समुदायसम्म पुर्याएर दीर्घकालीन जनचेतना अभियानको रूपमा रूपान्तरण गर्नुपर्छ ।" उनले विद्यालय र युवालाई केन्द्रमा राख्न, स्थानीय तहको सक्रिय सहभागिता सुनिश्चित गर्न र सुरक्षा निकाय तथा समुदायबीच कृत्रिम अभ्यास (मक ड्रिल) लाई प्राथमिकता दिन निर्देशन दिए ।
गृहमन्त्री अर्यालले भवन संहिता कार्यान्वयनमा कुनै सम्झौता नगर्न र सुरक्षित नेपाल निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिए ।
बैठकले यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा ‘सबै तहको सरकार, सबै नागरिकको तयारी: भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ तय गरेको छ । साथै, माघ २ गते हुने मूल समारोहमा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री सुशीला कार्कीलाई आमन्त्रण गर्ने निर्णय पनि गरेको छ ।