काठमाडौँ
जनकपुरमा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासको टोलीबीच शिष्टाचार भेटघाट भएको छ। बिहीबार बेलायती टोलीका विकास कार्यक्रम प्रमुख पुलिन सिनन लगायतका सदस्यहरू मुख्यमन्त्री सोनलसँग भेट गर्न आएका थिए।
भेटघाटमा मुख्यमन्त्री सोनलले प्रदेश सरकारका प्राथमिकताका क्षेत्रहरूमा बेलायती सरकारको सहयोग आवश्यक रहेको बताए। उनले शिक्षा, स्वास्थ्य र कृषि जस्ता महत्वपूर्ण क्षेत्रहरूको विकास र सुधारका लागि अन्तराष्ट्रिय साझेदारहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे।
सोनलले मधेश प्रदेशको समग्र विकासका लागि अन्तराष्ट्रिय साझेदारहरूसँग सहकार्यमा प्रदेश सरकार सधैं सकारात्मक रहेको बताए। उनले भने, “हामी चाहन्छौं कि शिक्षामा सुधार, स्वास्थ्य सेवामा वृद्धि र कृषि क्षेत्रमा विकासका लागि विभिन्न दातृ निकायसँग सहकार्य होस्।”
भेटघाटमा बेलायती टोलीकी प्रमुख पुलिन सिननले प्रदेश सरकारको प्रयास र प्राथमिकतासँग सहमति जनाउँदै आगामी दिनहरूमा बेलायती सरकारको तर्फबाट थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्। यस कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारीहरू र बेलायती दूतावासका प्रतिनिधिहरू पनि उपस्थित थिए।