काठमाडौँ, जेठ २३ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र हुर्कन खोजेका गलत प्रवृत्तिहरूलाई समयमै सच्याउनुपर्ने बताएका छन्। पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रिया अन्तर्गत आजदेखि सुरु भएको जिल्ला अधिवेशनको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो धारणा राखेका हुन्।
सभापति लामिछानेले पार्टी स्थापनाकालका सीमित दायरा र सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई नै स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’ को हिसाब-किताब खोज्ने प्रवृत्ति पार्टी हितमा नहुने स्पष्ट पारेका छन्। केवल चार वर्षको अवधिमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएको भन्दै उनले यसलाई समयमै सच्याउनुपर्नेमा जोड दिए।
संसदीय अवसरको दाउ हेर्नेलाई चेतावनी
पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर (सांसद वा अन्य पद) प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि देखिएको उल्लेख गर्दै सभापति लामिछानेले भने, "यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो।"
लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मुलुकको नेतृत्व
रास्वपा अब केवल वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्यका साथ अघि बढेको उनले बताए। संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्न आग्रह गर्दै उनले पार्टी ठूलो हुँदा सबैको भूमिका अझ अर्थपूर्ण हुने उल्लेख गरे। "अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ," लामिछानेले सन्देशमा भनेका छन्।
पार्टी आजको स्थानमा आइपुग्नुमा कुनै सीमित व्यक्तिको मात्र नभई सबैभन्दा माथि मतदाताको विवेक र सम्पूर्ण सदस्यहरूको समर्पण रहेको उनले स्मरण गरे। पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले यात्रा यहाँसम्म सम्भव भएको उनको भनाइ छ।
रास्वपाको वडा र पालिका तहका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् भने आज र भोलि (जेठ २३ र २४ गते) देशभर जिल्ला अधिवेशनहरू हुँदैछन्। महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएर पार्टीको विधि-पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा लिन उनले सम्पूर्ण पार्टी पङ्क्तिलाई आह्वान गरेका छन्।