काठमाडौँ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत कर प्रस्ताव गरिएको स्पष्ट पारेका छन्। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विद्युतीय पूर्वाधारका लागि मात्रै ८५ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको र त्यसको लगानी जुटाउन यो कर आवश्यक रहेको जानकारी दिए।
मन्त्री वाग्लेले निजी विद्यालय र अस्पतालमा लगाइएको 'समता कोष' को रकम सार्वजनिक पूर्वाधार विकास र दुर्गम क्षेत्रका विद्यार्थीको पोषणका लागि खर्च गरिने बताए। बजेटले निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न जोड दिएको उल्लेख गर्दै उनले आगामी वर्ष १२ वटा प्रसारण लाइन र हुलाकी राजमार्गको काम पूरा हुने विश्वास व्यक्त गरे।
साथै, एआई (AI) र विद्युतीय पूर्वाधारलाई रणनीतिक महत्त्वको परियोजनाका रूपमा बजेटले विशेष प्राथमिकता दिएको उनको भनाइ छ। नियमित दायित्वका लागि ठूलो स्रोत विनियोजन गर्नुपर्ने बाध्यताका बीच पनि विकास र प्रविधिलाई सँगै लैजाने गरी बजेट ल्याइएको अर्थमन्त्रीले दाबी गरे।