काठमाडौँ
सभामुख डोल प्रसाद अर्यालले कानुन निर्माण गर्दा जनताको वास्तविक अवस्था र व्यावहारिक पक्षलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पूर्वसांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिए।
उनले पुराना र असान्दर्भिक कानुन संशोधन वा खारेज गर्दै प्रविधिमैत्री नयाँ कानुन बनाउनुपर्ने बताए। साथै सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी नियमावलीको आलोचना गर्दै ९० दिनको प्रतीक्षा अवधि र शैक्षिक योग्यताको प्रावधान अव्यावहारिक भएको टिप्पणी गरे।
सभामुख अर्यालले कानुन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल नहुने र जनतामाथि नियम लाद्ने प्रवृत्ति रहेको उल्लेख गरे। उनले तीन पुस्ताको अनुभव, श्रमशीलता र प्रविधिको संयोजनमार्फत मात्र प्रभावकारी कानुन निर्माण सम्भव हुने धारणा राखे।