काठमाडौँ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई जनतासँग गरिएको प्रतिवद्धता कार्यान्वयनको इमान्दार प्रयासका रूपमा बुझिदिन सांसदहरूलाई आग्रह गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यो दस्तावेज केवल सरकारको दृष्टिकोण मात्र नभई राष्ट्रको साझा आकांक्षा भएको बताए।
अर्थमन्त्री वाग्लेले विधेयकमा संविधानका निर्देशक सिद्धान्त, आवधिक योजना, दिगो विकासका लक्ष्य र विभिन्न राजनीतिक दलका घोषणा पत्रहरूलाई समेत समेट्ने प्रयास गरिएको जिकिर गरे। "यसले नेपाली जनताले व्यक्त गरेका साझा आकांक्षालाई समेटेको छ," उनले भने, "जनतासँग गरिएका प्रतिवद्धतालाई कार्यान्वयनमा लैजाने यो एउटा इमान्दार प्रयत्न हो, यसलाई सोही रूपमा ग्रहण गरिदिनुस्।"
उनले संसद्मा बोल्दै व्यक्तिगत वा दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्र निर्माणको बृहत्तर बहसमा केन्द्रित हुन सबै सांसदहरूलाई आह्वान समेत गरे। सरकारले सबै पक्षको सुझावलाई समेटेर अघि बढ्ने इमान्दार प्रयास गरेको उनको भनाइ थियो।