काठमाडौँ
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्म राज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा भएको बहसका लागि पर्याप्त समय नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
उनले मुलुकको एक वर्षको मार्गचित्र तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि गहिरो छलफल आवश्यक भए पनि सरकारले यसपटक बहसलाई अत्यन्तै सीमित समय, करिब ६ घण्टामा मात्रै सीमित गरेको बताए। विगतमा कम्तीमा तीन दिनसम्म बहस हुने परम्परा रहेको उनले स्मरण गराए।
आङदेम्बेले नीति तथा कार्यक्रमलाई गम्भीरतापूर्वक छलफल गर्नुपर्ने विषय भन्दै यसलाई सामान्य प्रक्रियाजस्तो व्यवहार गर्नु गलत भएको टिप्पणी गरे। उनले सांसदहरूलाई विस्तृत रूपमा धारणा राख्ने अवसर दिनुपर्नेमा जोड दिए।
उनले सरकारको नीति तथा कार्यक्रममा डिजिटलाइजेसन र प्रविधिको विषय उठाइए पनि गाउँका गरिब किसान र मजदुरसम्म प्रविधिको पहुँच पुर्याउने स्पष्ट योजना नदेखिएको आरोप लगाए। नागरिक एप जस्ता कार्यक्रम प्रभावकारी बनाउन आधारभूत प्रविधि र मोबाइल पहुँच सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
नेता आङदेम्बेले दुई तिहाइ बहुमतको सरकार भए पनि नीति तथा कार्यक्रमलाई व्यवस्थित र समावेशी बनाउन नसकिएको भन्दै आगामी बजेटमार्फत सुधार गर्न सरकारलाई आग्रह गरे। उनले नेपाली कांग्रेसको भूमिका केवल विरोधका लागि विरोध गर्ने नभई नीति सुधारमा रचनात्मक रहने स्पष्ट पारे।
उनको भनाइमा नीति तथा कार्यक्रम देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण दस्तावेज भएकाले यसमाथि पर्याप्त र गहिरो बहस आवश्यक रहेको उल्लेख गरिएको छ।