काठमाडौँ
दाङको दंगीशरण गाउँपालिका–३ चखौरमा निर्माण गरिएको थारु सांस्कृतिक सङ्ग्रहालय लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। थारु समुदायको इतिहास, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको यो सङ्ग्रहालय अहिले ‘थारु सभ्यताको जीवन्त पाठशाला’का रूपमा परिचित बन्दै गएको छ।
थारुका प्रथम राजा दंगीशरणले शासन गरेको मान्यतासँग जोडिएको यस क्षेत्रमा निर्माण गरिएको सङ्ग्रहालयमा थारु समुदायका जन्मदेखि मृत्युसम्मका संस्कार, कला र जीवनशैलीलाई मूर्तिहरू र प्रदर्शनीमार्फत आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ। करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको परिसरमा थारु बस्तीको झल्को दिने परम्परागत घर, धन्सार, कोठा र देवस्थलसमेत निर्माण गरिएको छ।
सङ्ग्रहालयमा दुई सयभन्दा बढी मूर्तिहरू राखिएका छन् भने थारु समुदायका परम्परागत पोसाक, चाँदीका गहना, कृषि औजार तथा सांस्कृतिक नाचगानका सामग्री पनि प्रदर्शनीमा समावेश छन्। साथै राजा दंगीशरणको प्रतिमा र ऐतिहासिक नक्साहरूले यसको सांस्कृतिक महत्वलाई अझ उजागर गरेका छन्।
यहाँ दैनिक सयौँदेखि एक हजारभन्दा बढी पर्यटक आउने गरेको बताइएको छ। थारु समुदाय मात्र नभई अन्य जातजातिका पर्यटकसमेत यहाँ पुग्ने गरेका छन्। चितवन, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र मोरङ लगायतका जिल्लाबाट समेत आगन्तुक आउने गरेका छन्।
पर्यटकका लागि सङ्ग्रहालयमा विश्राम गृह, थिएटर हल, पुस्तकालय, रेकर्डिङ स्टुडियो, कोसेली घर तथा रेस्टुरेन्टको व्यवस्था गरिएको छ। थारु परम्परागत खानाका परिकारसमेत यहाँ उपलब्ध छन्। गाइड सेवा सहितको यो सङ्ग्रहालयले करिब दुई दर्जन स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएको छ भने स्थानीय उत्पादन र व्यवसाय प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ।