जनकपुर,यातायात व्यवस्था कार्यालय, जनकपुरधामले सोमबारदेखि झन्डै २४ हजार थान क्यूआरयुक्त सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण सुरु गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै सेवाग्राहीलाई कार्ड वितरण गर्न लागिएको जानकारी दिएको हो ।
कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, “यस कार्यालयमा प्राप्त स्मार्ट कार्डहरूको विवरण देहायअनुसार छ । आफ्नो नाम यकिन गरी सवारीचालक अनुमतिपत्र बुझ्न आउँदा सक्कल रसिद वा पुरानो लाइसेन्स आफूसँगै अनिवार्य लिएर आउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”
तर, कार्यालयले सेवाग्राहीलाई सहज रूपमा आफ्नो नाम फेला पार्ने विकल्प भने दिएको छैन । नागरिक एप वा यातायात व्यवस्था विभागको वेबसाइटमा ‘कार्ड छापिएको’ जानकारी देखाए पनि कार्यालयले सार्वजनिक गरेको सूचीमा नाम नभएसम्म तत्काल कार्ड पाइँदैन । त्यसैले कार्ड लिन जानुअघि सूचीमा आफ्नो नाम भएको सुनिश्चित गर्नुपर्ने हुन्छ ।
यसका बाबजुद यातायात व्यवस्था कार्यालय जनकपुरधामले भने उक्त सूची आफ्नो फेसबुक पेजमा निकै अव्यवस्थित तरिकाले राखेको छ । कार्यालयले झन्डै ५१७ पृष्ठ लामो पीडीएफ फाइललाई फोटोमा परिणत गरी छुट्टाछुट्टै पोस्टमार्फत फेसबुकमा अपलोड गरेको छ ।
यसरी फोटोबाट आफ्नो नाम खोज्न सेवाग्राहीलाई निकै सकस भइरहेको छ । फोटोमा नाम ‘सर्च’ गर्ने सुविधा नहुने र एक-एक गरी हेर्न पनि असम्भव प्रायः हुन्छ । त्यसमाथि सेवाग्राहीको नाम र थर छ्यासमिस तरिकाले राखिएकाले नाम खोज्न झनै सास्ती खेप्नुपरेको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।
सेवाग्राहीको यही गुनासोपछि टेकपानाले कार्यालय र विभागको वेबसाइटमा उक्त पीडीएफ फाइल खोज्दा कतै फेला पारेन । अन्ततः कार्यालयका सूचना अधिकारीलाई सम्पर्क गरी उक्त पीडीएफ फाइल मगाइएको छ ।
सेवाग्राहीको सहजताका लागि २४ हजारभन्दा बढीको नाम समावेश भएको उक्त सूचीलाई वर्णानुक्रम (Alphabetical Order) अनुसार व्यवस्थित गरेर यहाँ प्रस्तुत गरिएको छ । तपाईंले तल दिइएको सूचीमा आफ्नो नाम यकिन गरेर मात्र कार्ड लिन जान सक्नुहुन्छ ।
कार्ड लिनका लागि सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ भने राजस्व तिरेको सक्कल रसिद अनिवार्य रूपमा बोक्नुपर्नेछ । नवीकरण गर्ने सेवाग्राहीको हकमा भने आफ्नो पुरानो कार्ड (लाइसेन्स) लिएर जानुपर्ने कार्यालयले जनाएको छ ।