जल तथा मौसम विज्ञान विभागले देशभरको मौसम पूर्वानुमान जारी गर्दै तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्ने चेतावनी दिएको छ ।
पूर्वानुमानअनुसार आज नेपालगन्जमा सबैभन्दा बढी गर्मी हुने अनुमान गरिएको छ, जहाँ अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ । दिपायल, धनगढी र भैरहवा लगायतका सहरहरूमा पनि तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म रहने बताइएको छ । यसले तराई क्षेत्रमा ‘तातो दिन’ को अवस्था सिर्जना गर्नेछ ।
तराईमा गर्मी बढिरहँदा पहाडी र हिमाली भूभागमा भने मौसम बदली हुने र मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । पोखरा, धनकुटा, ताप्लेजुङ, काठमाडौँ, ओखलढुङ्गा, विराटनगर, जोमसोम र जिरी लगायतका स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा पनि केही पहाडी क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।