काठमाडौँ
प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अनुपस्थितिमै सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बिहीबार प्रतिनिधिसभामा छलफल अघि बढाइएको हो।
यसअघि बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम सदनमा टेबल गरेका थिए। तर प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले आपत्ति जनाएपछि बैठक अवरुद्ध भएको थियो।
बुधबार साँझ सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका भए पनि बिहीबारको बैठकमा पनि प्रधानमन्त्री अनुपस्थित रहेपछि छलफल अघि बढाइएको हो।
विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको आरोप लगाउँदै शासन प्रणालीप्रति प्रश्न उठाएका छन्। उनीहरूले नीति तथा कार्यक्रममा ३५ वटा संशोधन प्रस्तावसमेत दर्ता गरेका छन्।
यसैबीच, नेपाली काँग्रेसका निश्कल राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ऐन बहादुर महर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का युवराज दुलाललगायत सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै सरकार कुन शासन प्रणाली अवलम्बन गरिरहेको हो भन्ने प्रश्न उठाएका छन्।