काठमाडौँ
यस वर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपद्को जोखिम उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ को मस्यौदामा यस्तो अनुमान गरिएको हो।
मस्यौदाअनुसार यस वर्ष मनसुनजन्य विपद्बाट करिब १९ लाख ९७ हजारभन्दा बढी मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको छ। देशभर करिब चार लाख ५७ हजार घरधुरी जोखिममा पर्ने देखिएको छ। प्रभावितमध्ये महिला र बालबालिका बढी हुने सम्भावना पनि उल्लेख गरिएको छ।
उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई र तल्लो भूभागमा बाढी, पहिरो, डुबान र भूक्षयका घटना बढ्न सक्ने चेतावनी दिइएको छ। दक्षिणी तराई क्षेत्रमा तातो हावाको लहरका कारण थप असर पर्ने सम्भावना रहेको पनि प्रतिवेदनमा उल्लेख छ।
प्रदेशगत रूपमा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा जोखिम उच्च देखिएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले यस वर्ष केही क्षेत्रमा कम वर्षा र तापक्रम वृद्धि हुने प्रक्षेपण गरेको छ।
प्राधिकरणले पूर्वसूचना प्रणाली, सुरक्षित स्थान पहिचान, राहत सामग्री तयारी र उद्धार संयन्त्रलाई मजबुत बनाउन सबै निकायलाई निर्देशन दिएको छ। यसले विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।