काठमाडौँ
वैशाख २८ गतेका लागि तय गरिएको भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आउने तयारीमा रहेका मिस्रीले अन्तिम समयमा आफ्नो भ्रमण रोकेका हुन्।
यद्यपि नेपाल र भारत दुवै सरकारले भ्रमणबारे औपचारिक घोषणा गरेका थिएनन्। दुवै पक्षले अनौपचारिक रूपमा भ्रमणको तयारी भइरहेको संकेत दिएका थिए। गत चैतमा मरिससमा भएको भेटवार्ताका क्रममा भारतका विदेशमन्त्री एस. जयशंकर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच मिस्रीको नेपाल भ्रमणबारे छलफल भएको थियो। त्यसपछि स्वयं मिस्री र भारतका लागि निवर्तमान नेपाली राजदूत डा. शंकर शर्माले पनि उनको नेपाल भ्रमणको तयारीबारे सार्वजनिक अभिव्यक्ति दिएका थिए।
भारतीय सञ्चारमाध्यमहरूले भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै मे ११ मा मिस्री नेपाल आउने जनाएका थिए। नेपाल सरकारको परराष्ट्र मन्त्रालयले भने औपचारिक पुष्टि नगरे पनि नियमित पत्रकार सम्मेलनमार्फत चाँडै भ्रमण हुने जानकारी दिएको थियो।
तर अन्तिम समयमा भ्रमण स्थगित भएपछि यसको कारण नेपाल–भारत सीमा विवाद, विशेषगरी लिपुलेक मुद्दालाई मानिएको छ। स्रोतहरूका अनुसार लिपुलेकबारे दुवै देशले आफ्नो अडान कायम राखिरहेका बेला सचिवस्तरीय भ्रमण उपयुक्त नहुने निष्कर्ष निकालिएको हो। नेपालमा पछिल्लो समय लिपुलेक विषयलाई लिएर विरोधका स्वरहरू पनि उठ्न थालेपछि भ्रमणले नकारात्मक सन्देश दिन सक्ने आकलन गरिएको बताइएको छ।
भारतीय समाचार एजेन्सी एएनआईले दुईदिने भ्रमणका लागि मिस्री सोमबार काठमाडौँ आउने तयारीमा रहेको तर भ्रमण अप्रत्याशित रूपमा रद्द भएको जनाएको छ। यद्यपि नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने भ्रमण स्थगित हुनु र सीमा विवादबीच कुनै सम्बन्ध नरहेको बताएका छन्। नेपाल–भारत सम्बन्ध धेरै नजिकको रहेको र एउटा मुद्दाले दुई देशबीचको सम्बन्धमा असर नपार्ने उनको भनाइ थियो।
पूर्वराजदूत नीलाम्बर आचार्यले भने भ्रमण स्थगित हुनु राम्रो संकेत नभएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार नेपाल–भारत सम्बन्धलाई निरन्तर संवाद र भेटघाटमार्फत सुदृढ बनाउन आवश्यक छ। अन्तर्राष्ट्रिय मामिलाका जानकार टीका ढकालले पनि विदेश सचिवस्तरीय भ्रमण रोकिनु उपयुक्त नभएको टिप्पणी गरेका छन्। उनले यस्तो भ्रमणका लागि अनावश्यक ‘थिएट्रिक्स’ आवश्यक नपर्ने बताएका छन्।
हाललाई भ्रमण स्थगित भए पनि दुवै देशबीच कूटनीतिक संवाद जारी रहेको र उपयुक्त समयमा भ्रमण पुनः तय हुन सक्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।