काठमाडौँ
देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण केही प्रमुख सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार साँझसम्म प्राप्त विवरणअनुसार विभिन्न प्रदेशका राजमार्ग तथा सडकहरूमा यातायात आंशिक र पूर्ण रूपमा प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, भिमफेदी गाउँपालिका–६ भ्याङडाँडास्थित सोही सडक खण्ड पनि पहिरोका कारण बन्द रहेको छ।
भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण आंशिक रूपमा प्रभावित भई हाल एकतर्फी सञ्चालनमा आएको छ। यसैगरी, मुस्ताङको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडक खण्ड पनि पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरोले अवरुद्ध सडक केही दिनअघि सञ्चालनमा आए पनि पुनः बन्द गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन, वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ।