काठमाडौँ
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले हरेक यात्रा समस्या निवारणको मार्गमा केन्द्रित हुनुपर्ने बताएका छन्। बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गौतम बुद्धले देखाएको मार्ग दुःख निवारणको बाटो भएको उल्लेख गरेका छन्।
शुभकामना सन्देशमा उनले बुद्धका उपदेश उद्धृत गर्दै दुःख, यसको कारण, निवारण र त्यसको मार्गबारे प्रकाश पारेका छन्। उनले अँध्यारोलाई उज्यालोको अभावका रूपमा व्याख्या गर्दै ज्ञानको उज्यालो फैलिँदै जाँदा समस्या स्वतः समाधान हुँदै जाने बताएका छन्।
प्रधानमन्त्री शाहले हाम्रो यात्रा ज्ञानको खोज र समस्या समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिएका छन्। बुद्धको जन्मजयन्तीको अवसरमा उनले विश्वशान्तिको कामना व्यक्त गर्दै नेपाल भूमि सधैँ अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गरेका छन्।
सन्देशमा उनले ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो’ भन्दै ज्ञानको महत्वलाई विशेष रूपमा जोड दिएका छन्।