काठमाडौँ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टीले आफूलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले आफूसँग कुनै परामर्श नगरी जिम्मेवारी दिइएको भन्दै आपत्ति जनाएका हुन्।
पार्टीले गरेको कार्यविभाजनअनुसार अधिकांश प्रदेशमा युवा पुस्तालाई इन्चार्ज तोकिए पनि सुदूरपश्चिममा आफूजस्ता “बुढा पुस्ता” लाई जिम्मेवारी दिइएको भन्दै रावलले असन्तोष व्यक्त गरेका छन्। उनले यसलाई उपयुक्त नमानिने टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै रावलले सबै प्रदेशमा युवा पुस्तालाई इन्चार्ज बनाइएको अवस्थामा सुदूरपश्चिममा मात्र फरक निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्। उनले त्यहाँ पनि युवा पुस्तालाई नै जिम्मेवारी दिनुपर्ने सुझाव दिएका छन्।
पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले ७ भौगोलिक र २ गैरभौगोलिक प्रदेशमा इन्चार्ज तथा संयोजकहरूको जिम्मेवारी टुंग्याएको थियो। सोही निर्णयपछि रावलले सार्वजनिक रूपमा आपत्ति जनाएका हुन्।