काठमाडौँ
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल ले राजीनामा दिएका छन्। जेनजी आन्दोलन सुरु हुनुभन्दा चार दिनअघि नियुक्त भएका उनले करिब आठ महिनामै पदबाट राजीनामा दिएका हुन्।
अर्थ मन्त्रालयका अनुसार बस्यालले सोमबार अर्थमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए र उक्त राजीनामा स्वीकृत भइसकेको छ। उनी एमाले पृष्ठभूमिबाट तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नेप्से अध्यक्षमा नियुक्त गरेका थिए।
सरकार परिवर्तनपछि पुराना राजनीतिक नियुक्तिहरूलाई मार्ग प्रशस्त गर्न आग्रह भइरहेका बेला उनले राजीनामा दिएको बताइएको छ। वर्तमान सरकारले दबाब बढाएको कारण राजीनामा दिएको चर्चा पनि चलिरहेको छ, यद्यपि औपचारिक रूपमा यसबारे पुष्टि भएको छैन।
यसअघि नेप्से अध्यक्ष पदमा अर्थ मन्त्रालयका कर्मचारीहरूले भूमिका निर्वाह गर्ने परम्परा रहे पनि बस्यालको नियुक्तिलाई अस्वाभाविक भन्दै आलोचना हुँदै आएको थियो। उनीमाथि पदमा रहँदा राजनीतिक प्रभावका आधारमा नियुक्ति भएको आरोपसमेत लाग्दै आएको थियो।
राजीनामाअघि बसेको सञ्चालक समितिको बैठकमा उनले सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेका थिए। त्यसपछि उनी पदबाट बाहिरिएका हुन्।