काठमाडौँ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।
भेटका क्रममा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र भविष्यका सहकार्यका क्षेत्रबारे समेत छलफल भएको छ। शिक्षा क्षेत्रमा बेलायत सरकारबाट हाल भइरहेको सहयोगलाई निरन्तरता दिने विषयमा दुवै पक्षबीच सहमति बनेको बताइएको छ।
छलफलमा नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्न लागेको अटिजम स्कुल, शिक्षकको पेसागत क्षमता विकास तथा शैक्षिक जनशक्ति सुदृढीकरणका विषयमा विशेष जोड दिइएको थियो। साथै, ट्रान्सनेश्नल एजुकेसनको सम्भावना र यसको कार्यान्वयनबारे पनि विचार–विमर्श भएको छ।
मन्त्री पोखरेलले शिक्षा क्षेत्रको सुधार र शिक्षक क्षमता विकासका लागि बेलायत सरकारको निरन्तर सहयोग अपेक्षित रहेको बताए। उनले अटिजम स्कुल सञ्चालन तथा आवश्यक स्रोत र जनशक्ति विकासमा सहयोगको आवश्यकता रहेको पनि उल्लेख गरे।
त्यस्तै, बेलायती राजदूत रब फेनले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा विगतदेखि हुँदै आएको सहयोगलाई निरन्तरता दिन बेलायत सरकार इच्छुक रहेको बताए। भेटले दुई देशबीचको बहुआयामिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।