काठमाडौँ
प्रहरी नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग बयान लिन सुरु गरिएको छ। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमै बयान लिन थालेका हुन्।
पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकहरूले अस्पताल बाहिर लैजान उपयुक्त नभएको राय दिएपछि ओलीसँग अस्पतालमै बयान लिने व्यवस्था मिलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। उनका अनुसार जाँचबुझ आयोगले किटान गरेका विषयहरूमा केन्द्रित भएर बयान प्रक्रिया सुरु गरिएको हो।
यसैबीच, ओलीसँगै पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकको बयान भने सम्पन्न भइसकेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरी काफ्लेका अनुसार लेखकसँगको बयान प्रक्रिया पूरा गरिएको हो।