काठमाडौँ।
भारतले नेपाली भूमि लिपुलेक पास प्रयोग गरेर चीनसँगको व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने घोषणा गरेपछि नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले कडा टिप्पणी गरेका छन्। पाँच वर्षदेखि बन्द रहेको यो नाका आगामी जुन १ देखि खुलाउने भारतको तयारीप्रति बास्कोटाले सामाजिक सञ्जालमार्फत निराशा व्यक्त गरेका हुन्।
बास्कोटाले लिपुलेकको नक्सा नेपालको भए पनि नियन्त्रण अरूकै रहेको उल्लेख गर्दै दुई ठूला छिमेकीको अर्बौँ डलरको व्यापारिक योजनामा नेपाल केवल 'दर्शक' मात्र बन्नुपरेको बताएका छन्। "एक सय बीस अर्ब डलरको वार्षिक कारोबार गर्ने दुई छिमेकीको योजनाको सानो व्यापारिक नाकाको हामी छेउमा बसेर हेरिरहनुपर्ने भयो," उनले लेखेका छन्, "यस्तै हो- शक्ति र समयको संयुक्त प्रहार!"
नेपालको कडा विरोध र दाबीका बाबजुद भारतले लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने तयारी गरेपछि नेपालको कूटनीतिक पहलमाथि प्रश्न उठेको छ। बास्कोटाले यसलाई शक्ति र समयको प्रहारका रूपमा चित्रण गर्दै नेपाली भूमिको स्वामित्व र नियन्त्रणबीचको खाडलप्रति चिन्ता व्यक्त गरेका छन्।