काठमाडौँ।
गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङबीच मंगलबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री अर्यालले राजदूत माओमिङलाई कार्यकाल सफलताको शुभकामना दिँदै चीनले नेपालको आर्थिक-सामाजिक क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे।
मन्त्री अर्यालले आगामी दिनमा टेलिकम र साइबर अपराध नियन्त्रणको क्षेत्रमा चीनसँग बहुपक्षीय सहकार्य र सहयोगको प्रस्ताव राखेका छन्। जवाफमा राजदूत माओमिङले नेपालमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै गृह मन्त्रालयले गरेको सुरक्षा र सीमा व्यवस्थापनको उच्च प्रशंसा गरे।
राजदूत माओमिङले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रति चीनको निरन्तर प्रतिबद्धता रहने दोहोर्याउँदै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाए। उनले कानुनको शासन र शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद समेत ज्ञापन गरे।