काठमाडौँ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज (सोमबार) मध्यरात १२ बजेदेखि 'मौन अवधि' सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न नहुँदासम्म लागू हुने यो अवधिमा कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारका गतिविधि गर्न पाइने छैन।
मौन अवधि सुरु भएपछि सभा, सम्मेलन, गोष्ठी, छलफल वा अन्तरक्रिया गर्न निषेध गरिएको छ। साथै, मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्रीहरू हटाउनुपर्नेछ। सामाजिक सञ्जाल वा अन्य कुनै पनि माध्यमबाट मत माग्न वा प्रचार गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिको नियम पालना नगरेमा वा आचारसंहिता उल्लङ्घन गरेमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने चेतावनी दिएका छन्। निर्वाचन प्रचारप्रसारका कार्यक्रमहरू आजसम्म मात्र गर्न पाइने भएकाले दल र उम्मेदवारहरू अन्तिम तयारीमा जुटेका छन्।