काठमाडौँ
मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ ।
तर बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा भने अदालतले संगठित अपराध पुष्टि हुन नसक्ने ठहर गरेको छ । न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरेको हो । यससँगै उप्रेतीले कर्तव्य ज्यान मुद्दामा पाएको जन्मकैद (२० वर्ष) बाहेक थप १० वर्ष कैद भोग्नुपर्ने भएको छ ।
यस्तै, मतियारको आरोप लागेका मदन सिलवाललाई जिल्ला अदालतले दिएको सफाइ उल्ट्याउँदै ३ वर्ष कैद सजाय सुनाइएको छ । लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतको फैसला सदर भएको छ ।
तर करिब ३८ क्विन्टल सुन तस्करीसँग जोडिएको संगठित अपराध तथा भन्सार चोरी–निकासीको मुद्दामा भने अदालतले सरकारी प्रमाण अपर्याप्त ठहर गरेको छ । यससँगै पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, डीएसपी सञ्जयबहादुर राउतलगायत पूर्वप्रहरी अधिकारी र व्यवसायीहरूले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।
०७४ माघ ९ गते दुबईबाट तस्करी गरी ल्याइएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा बेपत्ता भएपछि यो काण्ड सतहमा आएको थियो । सोही सुनको खोजीका क्रममा गोरे नेतृत्वको समूहले २०७४ फागुन १८ गते उर्लाबारी–१ मा सनम शाक्यलाई करेन्ट लगाएर यातना दिँदै हत्या गरेको अभियोग लागेको थियो ।







