काठमाडौँ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अब चुनाव हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । यसअघि शान्ति सुरक्षाको विषयमा के–कसो हुन्छ भन्ने जिज्ञाशा तथा आशंका रहेता पनि अब त्यो नरहेको भन्दै भण्डारीले शान्तिपूर्ण रुपमा चुनाव हुने बताएका हुन् ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, ‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन घोषणा भएको भोलिपल्टदेखि हामीले छलफल सुरु गरेका हौँ ।’
भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण प्रारम्भमा सुरक्षाको विषयमा धेरैको चासो रहनु स्वाभाविक रहेको बताउँदै भण्डारी भन्छन्, ‘विद्रोहपछिको सरकार हो । संविधान जीवित छ,’ उनी भन्छन्, ‘पुरानो भइरहेको शक्ति र नयाँ आएका शक्तिहरूको बिचमा सन्तुलित वातावरण कायम भएन भने निर्वाचन शान्तिपूर्ण वातावरणमा हुँदैन् ।’ सुरक्षाका चुनौती पहिचान गरेर सरकारसँग पटक-पटक छलफल भएको उनले जानकारी दिए ।
भदौ २३ र २४ मा जेनजी आन्दोलन भयो । त्यसक्रममा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली राजीनामा दिन बाध्य भए । २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेका हुन् ।