काठमाडौँ ।
पोखरा महानगरपालिकाले मुख्य सडक र राजमार्ग किनारमा सञ्चालित वर्कसप, ग्यारेज, कवाडी संकलन केन्द्र तथा ग्रिल उद्योग हटाउने भएको छ । महानगरले एक सूचना जारी गर्दै यस्ता व्यवसाय अन्यत्र सार्न ३५ दिनको समय दिएको हो ।
महानगरले पृथ्वी राजमार्गको कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म र पोखरा-बाग्लुङ राजमार्गको जिरो किलोमिटरदेखि फेदीसम्मका सडक किनारमा रहेका वर्कसपहरू हटाउन निर्देशन दिएको छ ।
महानगर प्रमुख धनराज आचार्यका अनुसार, यस्ता व्यवसायले सवारी आवागमनमा कठिनाइ पुर्याएको, सहरी सौन्दर्यमा असर पारेको र वातावरणीय स्वच्छतामा प्रतिकूल प्रभाव पारेकाले हटाउन लागिएको हो ।
तोकिएको समयभित्र व्यवसाय नहटाए प्रचलित कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ । महानगरले हार्डवेयर पसलहरूलाई पनि सडकपेटीमा निर्माण सामग्री नराख्न आग्रह गरेको छ ।
मुख्य सडकमा अव्यवस्थित पार्किङसँगै सडक किनारका ग्यारेज र वर्कसपहरू ट्राफिक जामको मुख्य कारण मानिँदै आएका छन् । महानगरले यो अभियानमा सहयोग गर्न घरधनी, व्यवसायी, नागरिक समाज र स्थानीय प्रशासनलाई अपिल गरेको छ ।