काठमाडौँ
वेल्सको रेक्सह्याम सिटी सेन्टरमा एक महिलामाथि XL बुली कुकुरले आक्रमण गर्दा पूर्व सैनिक मार्टिन ग्रिफिथ्सले हस्तक्षेप गरी कुकुरलाई नियन्त्रणमा लिए। यस घटनामा यास्मिन बेगमको निधारमा दाँतका चोट लागे र उनको हिजाबसमेत तानिएको थियो। ग्रिफिथ्सले कुकुरलाई थिचेर सम्हाल्दै प्रहरी आउँदासम्म रोके।
कुकुरका मालिक टोमस वेगनरले ‘कुकुर नियन्त्रणबाहिर गएर चोट पुर्याएको’ अभियोग स्वीकार गरे पनि अदालतले उनलाई १५ महिनाको जेल सजाय दुई वर्षका लागि निलम्बन गरिदियो। यो सजाय ‘हदभन्दा कम’ रहेको भन्दै ग्रिफिथ्सले असन्तुष्टि जनाए।
अदालतमा प्रोसिक्यूटरले बताएअनुसार बेगम कुकुर देखेर डराएर टाढा सर्न खोज्दा वेगनरले आक्रामक रूपमा चिच्याएका र त्यसपछि कुकुरले उनलाई तानेर आक्रमण गरेको थियो। उनले भोगेको आघात र उनका बच्चाहरूले देखेको भयले उनलाई गम्भीर रूपमा असर पारेको बयानमा उल्लेख छ।
वेगनरले कुकुरलाई XL बुली नभई केन कोर्सो भएको दाबी गरे पनि अदालतले कुकुरलाई खतरनाक ठहर गर्दै नष्ट गर्ने आदेश दियो। साथै वेगनरलाई दुई वर्षका लागि कुकुर नपाल्न रोक लगाइयो र उनको मदिरा सम्बन्धी समस्या नियन्त्रणमा आएको उनको पक्षले दावी गरे पनि अदालतले कडा चेतावनीसहित सजाय सुनायो।