काठमाडौँ।
चार वर्षदेखिको विभाजन अन्त्य गर्दै गैर‑आवासीय नेपाली संघ (एनआरएनए) ले वृहत् एकता घोषणा गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार आयोजित एक कार्यक्रममा विभाजित संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौता पत्रमा हस्ताक्षर गरे ।
संघको १०औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले अन्ततः संघलाई विभाजनको अवस्थामा पुर्याएको थियो ।
एकता सम्झौताअनुसार, १०औँ र ११औँ महाधिवेशनमा निर्वाचित भएका दुवै पक्षका समितिलाई मान्यता दिइनेछ । त्यस्तै, १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि दुवै अध्यक्ष केसी र श्रेष्ठ रहेको एक स्टेयरिङ कमिटी गठन गर्ने सहमति भएको छ ।
दुवै पक्षले एकअर्काविरुद्ध दायर गरेका सम्पूर्ण मुद्दाहरू फिर्ता लिने र सदस्यता वितरणका लागि समय थप गर्ने विषयमा पनि सहमति जुटेको छ । यसका साथै, महाधिवेशनको तयारीका लागि ११ सदस्यीय स्टेयरिङ कमिटी र छुट्टै निर्वाचन तथा मोनिटरिङ समिति गठन गर्ने लगायतका सहमति पनि भएको छ ।