काठमाडौँ
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा पहिलो प्रदेश विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। बैठकमा जल तथा मौसम पूर्वानुमान शाखाले भोलि बिहीबारदेखि देशभर मौसममा बदली हुने र मोन्था चक्रवातको असर पर्न सक्ने जानकारी प्रस्तुत गरेको थियो। साथै, राष्ट्रिय विले सात बुँदे अनुरोधमार्फत सतर्क रहन सबै नागरिकलाई आग्रह गरेको छ।
बैठकको मुख्य उद्देश्य मधेश प्रदेशमा चक्रवात र खराब मौसमको संभावित प्रभावको समीक्षा र जोखिम न्यूनीकरणका उपाय तय गर्नु थियो। यस क्रममा प्रदेशभरका सम्बन्धित निकायका पदाधिकारीहरू उपस्थित रहेका थिए र संभावित विपत्तिबाट स्थानीयवासीलाई सुरक्षित राख्न आवश्यक तयारीहरूमा छलफल गरिएको थियो।
बैठक पश्चात मुख्यमन्त्री सोनलले सञ्चारकर्मीहरूलाई जानकारी दिँदै तीनै तहको सरकार र सुरक्षा निकायलाई खटाएर जोखिम न्यूनीकरण गर्न निर्देशन दिएको बताए। उनले नदीका तटबन्ध क्षेत्रमा रहेका बस्तीहरूको सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित सबै निकायलाई जिम्मेवारी दिने निर्णय भएको पनि उल्लेख गरे।
सोनलले गैरसरकारी संस्था, युवा क्लब र युवाहरूलाई जोखिमयुक्त स्थानमा फसेकाहरूलाई सहयोग गर्न अपिल गरे। साथै, प्रदेशभरिका नागरिकलाई कुनै समस्या आएमा नजिकको सुरक्षा निकाय, प्रहरी चौकी वा गृहमन्त्रालयसँग सम्पर्क गर्न सुझाव दिए। उनले विपत्तिको समयमा एक अर्कासँग सहकार्य गर्दै अगाडि बढ्न सबैलाई आग्रह पनि गरे।